चितवन : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई रक्त सङ्कलन गर्न घुम्ती बस (ब्लड बस) सहयोग गरेको छ । भरतपुर महानगरपालिकाको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विपद् व्यवस्थापन एम्बुलेन्स/घुम्ती रक्त संकलन बस सहयोग गरेको हो । आज उक्त बस भरतपुर महानगरमा एक कार्यक्रमकाबीच रक्त सञ्चार केन्द्रलाई हस्तानान्तरण गरिएको छ ।

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उपाध्यक्ष डा. बद्रि केसीले भरतपुर महानगर प्रमुख रेनु दाहाललाई बसको साँचो हस्तानान्तरण गरेपछि महानगर प्रमुख दाहालले रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेललाई हस्तानान्तरण गरेकी थिइन् ।

एनआरएनका संस्थापक अध्यक्ष महत्तोले मेडिकल हवको रुपमा विकास भइरहेको भरतपुरमा ब्लड बसको आवश्यकता महशुस गरी बस सहयोग गरिएको बताए ।

‘देश जनताले नै बनाउने हो । जनताले नै सहयोग गर्नुपर्छ । त्यसैले हामीले सहयोग गरेका हौं’ उनले भने । नेपालीहरु उपचार गर्न विदेश जानु नपर्ने गरी मेडिकल सिटी बनाउनु नेपालमा अति आवश्यक भएको उनले बताए ।

एनआरएनका उपाध्यक्ष केसीले भन्सार र कर छुटबाहेक भारतीय रु ३५ लाखमा बस खरिद गरिएको जानकारी दिए । उनका अनुसार रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस वाग्मती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उनले बताए ।

बसभित्र रक्तदान गर्ने, प्रेसर नप्ने र रक्त सङ्कलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बसभित्रै घुम्ती रक्तदानका कार्यक्रम गर्न सकिनेछ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा ब्लड बस आवश्यक रहेको बताउँदै त्यसलाई परिपूर्ति गर्न सहयोग गरेकोमा एनआरएनलाई धन्यवाद दिएकी थिइन् ।
रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडलले अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको भए पनि दैनिक ५० युनिट रगत पुर्‍याउन पनि कठिन परिरहेको बताए । ब्लड बस सञ्चालनमा आएपछि मागअनुसार रगत पुर्‍याउन सक्ने आशामा आफूहरु रहेको उनले बताए । ब्लड बस सहयोग गरेर पूण्यको काम गरेको भन्दै उनले एनआरएनप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार