मंसिर १६, काठमाडौं :
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भिडभाडजन्य क्रियाकलाप गरे कारबाही गर्ने भएको छ । मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो ।
कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गर्दै विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप भइरहेकोले यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना सङ्क्रमण काठमाण्डौमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो समय काठमाण्डौ उपत्यकामा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै आन्दोलन भइरहेका छन् । अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाण्डौको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न सुरु गरेका छन् । यस्ता गतिविधिबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने भन्दै सरकारले सजग गराउँदै कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न आग्रह गरेको हो ।