काठमाडौं : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट होबार्ट हरिकेन्स बाट खेल्न भएका छन्। होबार्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ।
सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्। यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए। उनले खेलेको दुबै सिजनमा स्टार्स फाइनलमा पुगेको थियो।
सन्दीपले दुई सिजनमा २० इनिङ्स खेल्दा ७.२७ को इकोनमीमा २६ विकेट लिएका छन्। बीबीएलमा उनको उच्च प्रदर्शन चार ओभरमा ११ रन दिएर तीन विकेट लिनु हो। सन्दीपले बीबीएल २०१८ मा सात इनिङ्समा ६.९७ को इकोनमीमा ११ विकेट लिएका थिए।
गत सिजनमा उनले १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट हात पारेका थिए। यसअघि हरिकेन्सले विदेशी खेलाडीको रूपमा किमो पउल, कोलिन इन्ग्राम, टिम डेविड, डेविड मलानलाई अनुबन्ध गरिसकेको छ।
सन्दीपसहित हरिकेन्सले विदेशी खेलाडीको रूपमा पाँच जनालाई अनुबन्ध गरिसकेको छ। यो पटक नयाँ नियमअनुसार प्लेइङ-११ मा तीन विदेशी खेलाडी राख्न पाइने छ। १० औँ सिजनको बीबीएल १० डिसेम्बरदेखि सुरु हुनेछ।
उद्घाटन खेलमा होबार्ट हेरिकेन्स र सिड्नी सिक्सर्स खेल्ने छन्। सिड्नी गत सिजनको विजेता टिम पनि हो।