काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो ।

उक्त नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको मोडेर्नाले जनाएको छ । यसअघि फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ ।

दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ । यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई डम्मी खोप (वास्तविक खोप होइन) लगाइएको थियो । पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो ।

ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए । बाँकी ९० जना डम्मी खोप दिइएकाहरू थिए । मोडेर्नाले यसलाई एउटा ठूलो दिन भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् ।

यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीको दावी छ । ‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन हो,’ मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले भने ।

मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ । फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर