चितवन : चितवनमा एकैदिन उपचाररत तीन कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते सङ्क्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना संक्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो ।

चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया संक्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर